महिलाका पुरुष डाक्टर ! जसले ३६ हजारलाई नयाँ जीवन दिए

११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । ...


११ भदौ, काठमाडौं । त्यतिबेला नेपालमा स्त्रीरोग विशेषज्ञ औंलामा गन्न सकिने संख्यामा थिए । पुरुषप्रधान समाज रुढीवादी मान्यतामै अडिग थियो । महिलाले पुरुषलाई आफ्ना समस्या बताउन हिच्किचाउनु स्वाभाविकै थियो ।
सामाजिक परिवेश नै त्यस्तो थियो, जसले डा. जागेश्वर गौतमलाई करिब तीन वर्ष बेरोजगार बनायो । किनभने उनी महिलाका डाक्टर थिए ।
अस्पतालमा पुरुष चिकित्सक देख्नासाथ महिला टाढै बस्न रुचाउँथे । नजिक आएकाहरु पनि खुलेर कुरा गर्न सक्दैनथे । पुरुष पनि महिलाका चिकित्सक हुन सक्छन् भनेर प्रमाणित गर्न उनले कम्ता संघर्ष गर्नु परेन ।
‘सुरुवाति दिनमा मान्छेहरु मलाई दोस्रो दर्जाको चिकित्सक ठान्थे,’ उनले विगत कोट्याए । समस्या डा. गौतमको थिएन, बिरामी महिलालाई डर हुन्थ्यो, लोकलाजको । त्यही लोकलाज बिरामी र चिकित्सकबीच समस्याको पहाडका रुपमा खडा थियो ।
उनलाई आजकाल त्यतिबेलाको एउटा टेलिभिजन लाइभ सम्झिँदा हाँसो उठ्छ ।
उनी र एक हृदयरोग विशेषज्ञलार्इ लाइभ अन्तरवार्तामा डाकियो । प्रस्तोताले अर्का चिकित्सकलाई ३० भन्दा बढी प्रश्न सोधे, उनलाई भने जम्माजम्मी पाँच मात्र ।
लाइभ सकिएलगत्तै उनले प्रश्न गरे, ‘किन यस्तो ?’ प्रस्तोताको जवाफ थियो, ‘महिलाका डाक्टरलाई सोध्ने के नै हुन्छ र !’
ती मुटुरोग विशेषज्ञले करिब चार हजार मानिसलाई शल्यक्रियाबाट बचाएका रहेछन् । डा. गौतमले पनि त २४ हजारभन्दा बढीलाई त्यो पनि शल्यक्रियाबाटै बचाइसकेका छन् नि !
अझ, मुटुका चिकित्सकसँग बिरामी मात्र गाँसिन्छन् । स्त्रीरोग विशेषज्ञसँग त सुत्केरी र शिशु दुवै जोडिन्छन् । दुवै गरी अहिलेसम्म डा. गौतमले करिब ३६ हजारलाई नयाँ जीवन दिइसकेका छन् ।
अनि बाटो मोडियो
डा. गौतमलाई एक समयमा लाग्थ्यो, काट्ने, चिर्ने र सिलाउने आफ्नो काम होइन । उनका गुरु डा. बीके मान सिंहले उनलाई एमबीबीएसपछि इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजीमा डीएम गर्न सुझाएका थिए । गुरुकै आज्ञा शिरोपर गर्दै उनी पनि अमेरिकामा मेडिकल लाइसेन्स प्राप्त गर्ने परीक्षा (युएसएमएलई)को तयारीमा जुटेका थिए ।
अमेरिका उड्नुअघि साथीहरुले उनलाई कर्णाली अञ्चलको विकट जिल्ला मुगु घुमाउन लगे । त्यतिबेला नेपालमै सडक र यातायातको पहुँच कमजोर थियो, मुगुमा त पैदल यात्राको विकल्प हुने कुरै भएन ।
हिँड्दै गर्दा डोकोमा बोकेर सदरमुकाम गमगढी ल्याइँदै गरेकी एक किशोरी देखे । उनीहरुले सोधे, ‘के भएको ?’ भरियाले जवाफ दिए, ‘बच्चा पाउन नसकेर अस्पताल लगेको ।’
त्यो दृष्यले डा. गौतमको मनमा गहिरो चोट लगायो । करिब १६ वर्षकी किशोरी गर्भवती थिइन् र बच्चा जन्माउन नसकेर छटपटाइरहेकी थिइन् ।
त्यस घटनाले उनलाई यति विचलित बनायो कि अमेरिकाको सपना त्यागेर स्वदेशमै सेवा गर्ने प्रेरणा जाग्यो । ‘त्यस रात निदाउनै सकिनँ,’ उनी सम्झिन्छन्, ‘बिहान भाले बास्नु अघिसम्ममा मेरो मनमा स्वदेशमै बसेर पीडामा रहेका महिलाको सेवा गर्ने इच्छा जागिसकेको थियो ।’
त्यो उनको जीवनको ‘टर्निङ पोइन्ट’ थियो । उनी मुगु यात्रा छोट्याएर काठमाडौं फर्किए । र, स्वदेशमै एमडी अध्ययन गर्न प्रवेश परीक्षाको तयारी थाले ।
उनी चिकित्साशास्त्रकै अरु क्षेत्रमा पनि जान सक्थे । किनभने, कक्षाका राम्रा बिद्यार्थी थिए । तर, उनले निर्णय लिए, प्रसुती तथा स्त्रीरोग नै अध्ययन गर्ने । प्रवेश परीक्षामा उनको नाम एक नम्बरमा निस्कियो पनि ।
पत्नी नूतन ढुंगानासहितका परिवारजनले त्यो विषय नपढ्न सुझाएका थिए । तर, उनले निर्णय लिइसकेका थिए, किन परिवर्तन गर्थे र ! भन्छन्, ‘मलाई थाहा थियो, यस क्षेत्रमा अझै धेरै काम गर्न सकिन्छ ।’
महिलाबाटै दुरदुर

अध्ययनका क्रममा डा. गौतमको पोस्टिङ भयो, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा । तीन महिना त्यहाँ बस्दा उनले थाहा पाए, जटिल समस्या भएर पनि महिलाहरु पुरुष डाक्टरको छेउ पनि पर्न नचाहने रहेछन् ।
त्यसपछि उनलाई थापाथलीस्थित प्रसुती गृहमा खटाइयो । त्यहाँ पनि महाराजगञ्जकै नियती बेहोर्नु स्वाभाविकै थियो ।
त्यहाँ करिब तीन वर्षको सेवा क्रममा उनले साथमा महिला स्वास्थ्यकर्मी नछुटाउनुको कारण पनि त्यही थियो । महिला स्वास्थ्यकर्मीसँग बिरामी खुल्थे । र, डा. गौतमलाई समस्या पहिचान र समाधानका उपाय पत्ता लगाउन सहज हुन्थ्यो ।
प्रसुती गृहमा छँदा एक एचआईभी संक्रमित महिलाको सुत्केरी गराउनु पर्ने भयो । कुनै चिकित्सक अगाडि सर्न मानेनन् । डा. गौतमका पाइला ती महिलालाई राखिएको क्याबिन नम्बर ८ तिर अगाडि बढे ।
उनलाई लाग्यो, भौतिक शरीर एक दिन त सबैले छाडेर जानु नै छ तर एउटा जीवन बचाउँदा पाइने आनन्दको भने कुनै सीमा छैन ।
एचआईभी त्यत्तिकै सर्दैन भन्ने एउटा चिकित्सकलाई थाहा नहुने कुरै भएन । हातमा दुई वटा पञ्जा लगाएर उनले क्याबिनमै उनको प्रसुती गराए ।
एचआईभीका कारण ती महिलाले संसार छाडिसकेकी छन् । उनका छोरा भने २२ वर्षको पठ्ठो भइसकेका छन् । उनले पनि केही बन्ने लक्ष्यका साथ जीवनका पाइला अगाडि सार्दै गरेको हुन सक्ने अनुमानले डा. गौतमलाई रोमाञ्चक बनाउँछ, कहिलेकाहीँ ।
तर, त्यस घटनाबाट उनले थाहा पाए, नेपालका स्वास्थ्यकर्मीलाई तालिम पुगेकै रहेनछ ।
त्यसयता पनि उनले भने एचआईभी संक्रमित धेरै महिलाको शल्यक्रियामार्फत् प्रसुती गराइसकेका छन् । उनीहरु र शिशुको ज्यान बचाउन पाएकामा उनी दंग छन् ।
मनमा पोखरा, यात्रा राजविराज र भद्रपुरको
एमडी सकेपछि उनले त्यतिबेलाका स्वास्थ्य सचिव भोजराज पोखरेलसँग भेटेर आफू पोखरा जान चाहेको बताए । उनी पर्वतका रैथाने थिए र गृहजिल्लाका बिरामीको केन्द्र थियो, पोखरा ।
पोखरामै पनि स्त्रीरोगको राम्रो उपचार कहाँ हुन्थ्यो र, त्यतिबेला ।
स्वास्थ्य सचिव पोखरेलले भने उनलाई सप्तरी सदरमुकाम राजविराज पठाइदिए । किनभने सगरमाथा अञ्चल अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक थिएनन् । राजविराज जान उनले कुनै सर्त तेर्स्याएनन् ।
उनी पुग्नुअघि कुसुमलता मिश्र मात्र थिइन्, स्त्रीरोगकी चिकित्सक ।
त्यहीबेला मेची अञ्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञ पठाइदिन भद्रपुरका बासिन्दाको एउटा टोली मन्त्रालय पुग्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातबाट गोल्ड मेडल थाप्न काठमाडौं आएका बेला सचिव पोखरेलले उनलाई सीधै भद्रपुर उत्रिन आग्रह गरे । र, फेरि बिनासर्त भद्रपुर पुगेर एक वर्ष सेवा गरे ।
भरतपुरमा १६ वर्ष

भद्रपुरपछि उनी आइपुगे भरतपुर, जहाँ उनले १६ वर्ष बिताए । भरतपुरका ती दिनले उनलाई अझ उत्साहित बनायो । किनभने, ७५ वटै जिल्लाका बिरामीसँग उनको भेट हुन्थ्यो ।
‘मेरो २४ घण्टे ड्युटी देखेर बिरामीले तपाईंको घर परिवार छैन भनेर सोध्थे,’ उनी भन्छन्, ‘बच्चाबच्ची नै पनि छैनन् कि भनेर समेत कुरा गर्थे ।’
आखिर मानिस पनि त सहयोगका भोका न हुन् । उनले पनि बिरामीको सहयोगमा कुनै कसर छाडेनन् ।
तथापि, भरतपुरसम्म आइपुग्दा पनि सामाजिक मान्यता फेरिएको थिएन । डा. जागेश्वर गौतम लेखिएको नेमप्लेट देख्नासाथ महिलाहरु ढोकाबाटै फर्किन्थे । उनलाई सामाजिक मान्यता बदल्न समय लाग्यो । भरतपुरमै बस्दाबस्दै उनीसँग जँचाउन आउने महिलाको भीड जम्मा हुन थाल्यो ।
भरतपुर अस्पतालमा प्रसुती गराउनेहरु चार हजारबाट १२ हजारसम्म पुगे, वार्षिक ।
२०५६ सालमा इलामबाट सुरु भएको उनको स्वास्थ्य शिविर अभियान ०६९ मा बैतडीको पाटन पुगेर सम्पन्न भयो । त्यसक्रममा ३६ भन्दा बढी शिविरमा उनले हजारौंको जाँच मात्र गरेनन्, आङ खस्ने समस्या भएका ३५ भन्दा बढी महिलाको शल्यक्रिया पनि गरे ।
यसबीचमा, हजारौं संख्याका निःसन्तान दम्पत्तिलाई सन्तानको खुशी दिलाइसकेका छन् ।
जोखिमै जोखिम
डा. गौतमले निसन्तान दम्पत्तीदेखि धेरैको कोख उजिल्याइसकेका छन् । लमजुङकी ५४ वर्षे महिलाको पेटबाट ३५ किलोको ट्युमर निकालेर फाल्दा उनलाई ठूलै बोझ हटाउन सकेको अनुभव भएको थियो । थुप्रै आमाहरुको पाठेघरको ट्युमर फालिसकेका छन्, यसबीचमा ।
नवलपरासी रजहरकी १७ वर्षाीया किशोरी बाथरुममै बेहोस भएकी थिइन् । उनको रगतमा हेमोग्लोबिन ३.५ मा झरेको थियो । ‘इप्टोपिक प्रेग्नेन्सी’को केस थियो त्यो । भरतपुर अस्पतालको शल्यक्रिया कक्षमा पुर्‍याउँदा उनको अल्ट्रासाउन्ड त टाढाको कुरा रगत परीक्षण गर्ने अवस्था पनि थिएन । डा. गौतमलाई समस्या भने थाहा थियो ।
स्लाइन चढाए र पिसाब खोले । एनेस्थिसिस्ट चिकित्सक उनलाई बेहोस बनाउन तयार थिएनन् । किनभने, उनी फर्किने अवस्था कमजोर थियो । उनले जोखिम मोले र शल्यक्रियामार्फत् नयाँ जीवन दिए ।
यस्तै अवस्थामा हो, चिकित्सकहरुलाई बात लाग्ने । ‘राम्रै गर्दा पनि विरामीलाई मार्न खोजेको आरोप लाग्छ अहिले त,’ उनी भन्छन्, ‘हामी त मान्छे बचाउने अभियानमा लागेका मान्छे । अमेरिकाका राम्रा अस्पतालमा पनि बिरामीको मृत्यु हुन्छ । त्यहाँ चिकित्सकले मारेको आरोप लाग्दैन ।’
त्यसो भन्दैमा डाक्टरले लापरवाही गर्दैनन् भन्ने होइन । डा. गौतम भन्छन्, ‘लापरवाही गरेर डाक्टरहरुलाई के फाइदा पुग्छ ?’ उनी प्रश्न गर्छन् ।
जनकपुरकी एक विरामीलाई डाक्टरले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए । भरतपुरका दुवै मेडिकल कलेजले लिन नमानेपछि उनलाई काठमाडौं ल्याइयो । उपत्यकाका पाँच वटा अस्पतालले ‘रिजेक्ट’ गरेपछि उनलाई ओम अस्पतालमा ल्याइयो र केस डा. गौतमको हातमा आयो ।
उनलाई एक सय चार डिग्री ज्वरो थियो र जुम्ल्याहा शिशु थिए, पेटमा । रक्तचाप बढेको, मधुमेहको समस्या र तीन दिनदेखि पानी बगिरहेको थियो, पाठेघरबाट । तत्काल शल्यक्रिया गरे र आमा-शिशु तीनै जनालाई बचाए ।
तीन वर्षअघि उनले भरतपुरबाट विदा लिए । अहिले चावहिलस्थित ओम अस्पतालमा निर्देशक छन् । काठमाडौं आएयता उनी स्वास्थ्य मन्त्रीको सल्लाहकार पनि बने । थापाथलीस्थित प्रसुती गृहको निर्देशकको जिम्मेवारी पनि सम्हाले ।
उनी आफैं सरल जीवनशैलीका हिमायती हुन् । र, मानिससँग सहजै घुलमिल हुन सक्छन् । हरेक चिकित्सकको यस्तै जीवनशैली हुनुपर्ने ठान्छन्, उनी ।
विस्तारै समाज उदार हुँदै गएको उनलाई महशुस हुन्छ, आजकाल । र, अमेरिकाको सपना त्यागेर स्वदेशमै सेवा गर्ने आफ्नो निर्णय ठीक रहेको अनुभूतिका कारण सन्तुष्टि पनि मिल्छ रे, डा. गौतमलाई ।

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
गुरासँ एफ्.एम्.: महिलाका पुरुष डाक्टर ! जसले ३६ हजारलाई नयाँ जीवन दिए
महिलाका पुरुष डाक्टर ! जसले ३६ हजारलाई नयाँ जीवन दिए
https://www.onlinekhabar.com/wp-content/uploads/2017/08/jageshwor-gautam-2.jpg
गुरासँ एफ्.एम्.
http://www.gurasfm.com/2017/08/blog-post_32.html
http://www.gurasfm.com/
http://www.gurasfm.com/
http://www.gurasfm.com/2017/08/blog-post_32.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।